• मुसिकोट नगरपालिकाको बराटाकुरामा अबस्थित झोलङ्गे पुलको अगाडी कैद गरिएको तस्विर...

Showing posts with label शिक्षा सामाग्री. Show all posts
Showing posts with label शिक्षा सामाग्री. Show all posts

नेपालका जंगलमा खान मिल्ने फल २५६


काठमाडौँ — नेपालका जंगलमा खान मिल्ने २५६ प्रकारका फल पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘वाइल्ड इडिबल फ्रुट्स अफ नेपाल’मा २५६ प्रकारका खान मिल्ने फल सूचिकृत भएको हो । नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत लोकरञ्जन भट्ट मुख्य लेखक रहेको यो पुस्तकले खान मिल्ने फलहरुमध्ये ६१ प्रतिशत पहाडी क्षेत्रमा पाइने उल्लेख छ । यसअघि सन् २०२०मा प्रकाशित एक वैज्ञानिक आलेख अनुसारमा नेपालका जंगलमा १९९ प्रकारका खाना मिल्ने फलहरु पाइने उल्लेख थियो ।

पहाडी क्षेत्रको भौगोलिक अवस्था, जलवायु, जैविक विविधता, तापक्रमले पनि जंगली फल धेरै पाइएको उनले बताए । नेपालको कूल भू–भागमध्ये ४४.७४ प्रतिशत वन क्षेत्रले ओगटेको छ । यी फल विभिन्न ६८ परिवार अन्तर्गतका ११४ प्रजातिभित्र पर्छन् । सबैभन्दा बढी ‘रोजेसी’ परिवारका छन् । यो परिवारका ४४ प्रकारका फल खान मिल्ने पाइएको भट्टले बताए । ७ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको वनस्पतिविद् समेत रहेका भट्टले बताए । ‘संख्या धेरै पनि हुन सक्छ । मैले पुराना अनुसन्धान, फिल्ड भिजिटबाट तथा लिटरेचरहरुको अध्ययनबाट संकलन गरेको हुँ,’ भट्टले कान्तिपुरसित भने ।

नेपालमा ६ सय प्रकारका खान मिल्ने वनस्पतिजन्य उत्पादन छन् । तीमध्ये ३७४ जंगल क्षेत्रबाट प्राप्त हुने पुस्तकमा उल्लेख छ । यी फललाई सही सदुपयोग गरे व्यवसायिक उत्पादन पनि गर्न सकिने अनुसन्धानकर्ता भट्ट बताउँछन् । ‘यी फलबाट चुक, अचार, जुस, स्क्वास, वाइन, घिउलगायतका उत्पादन बनाइने गरिएको छ । जस्तै, लप्सीबाट अचार, बेलबाट जुस तथा स्क्वास, चिउरीबाट बटर(घिउ) आदि,’ उनले भने ।

नेपालमा जंगलमा पाइने खान मिल्ने फलहरुको अध्ययन तथा अनुसन्धान अन्य प्रदेशको तुलानामा वाग्मती र गण्डकी प्रदेशमा भएका छन् । अध्ययन पनि ट्याक्सोनोमी र भेटिने क्षेत्रबाट मात्रै भएको पुस्तकमा उल्लेख छ । जंगली फलहरुमा पोषक तत्व हुने गरेपनि यस सम्बन्धी विस्तृत अनुसन्धान नेपालमा भएको छैन । नास्टका पूर्वउपकुलपति दयानन्द बज्राचार्यले यी फलहरुमा पाइने रसायन एवं पोषक तत्वहरुको अध्ययन गरेका थिए । उनको निधनपछि यी प्रजातिहरुलाई प्राथमिकता कम हुन थालेको अनुसन्धानकर्ता भट्टको भनाइ छ । भट्ट मुख्य लेखक रहेको यो पुस्तक ‘वाइल्ड इडिबल फ्रुट्स अफ नेपाल’मा १६८ वटा फलका रंगिन तस्बिर तथा भेटिएका २५६ प्रजाति हरेकका विवरण समावेश छ ।

नास्टका बायोलोजिकल रिसर्च ल्याबका प्रमुख समेत रहेका वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले धेरै मात्रामा संकलन र प्रयोगले यीनको अवस्था खतरामा पर्ने औंल्याए । चुरे विनाश,भू–क्षय, पहिरोलगायत प्राकृतिक विपत्तिका कारण पनि यस्ता वनस्पति खतरामा परेको उनले बताए । नेपालका जंगल क्षेत्रमा पाइने खान मिल्ने फलबारे पहिलो पटक सन् १९८० मा प्रकाशित भएको थियो । त्यसबेला १३३ प्रकारका खान मिल्ने फलहरु रेकर्ड भएका थिए । जंगल क्षेत्र तथा आदिवासी समुदायले जंगल फलहरुलाई परापूर्वकालदेखि प्रयोग गर्दै आएको पनि उनले बताए । यी फलहरुमा पाइने तत्वको अध्ययन र आदिवासी समुदायबीचको सम्बन्धको अध्ययनले अन्य विविध पाटाहरु खुल्न सक्ने उनी बताउँछन् ।

साधार : Kantipur

Share:

Subscribe Us

Fashion

मिति परिवर्तण


सम्पर्कको लागी